जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बन्दुकसम्बन्धीमा मुद्दामा दोषी ठहर

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बन्दुकसम्बन्धीमा मुद्दामा दोषी ठहर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा सबै तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा भरेको फारममा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको निष्कर्ष निकाल्दै १२ सदस्यीय जुरीले उनलाई दोषी ठहर गरेको हो ।

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय दिन मिल्ने कानुनी व्यवस्था छ । तर, पहिलोपटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिने गरिएको छैन ।

यस मुद्दामा एक हप्तासम्म प्रत्यक्षदर्शीहरूबाट बयान सुनेपछि जुरीले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषध दुर्व्यसनको बारेमा पनि छलफल गरेको थियो । हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन् । उनीविरुद्ध झुटा बयान दिएको र अवैध रूपमा बन्दुक राखेको आरोप थियो । उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारी गरिरहेका बेला हन्टरलाई दोषी ठहर गरिएको हो ।

मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी तथा हन्टरकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिइन् ।मुद्दा कभर गर्ने पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएको थिएन । फैसला सुनाउनेबित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए ।

हन्टर बाइडेन लागुपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका हुन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ । उनी दोषी ठहर भएका तीन आरोपमा अधिकतम् २० वर्षसम्म जेल सजाय तोक्न सकिन्छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा छोटो अवधिको लागि पठाइने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा बन्दुक किन्दा झुटो बयान दिएमा १० वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी, लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्मको सजाय हुने व्यवस्था छ । बन्दुक किन्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदी हन्टर बाइडेनलाई यी तीन आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्छन् ।

हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए । हन्टर बाइडेनले कोकिनको लतको बारेमा खुलेर बोलेका छन् । अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगकाबारेमा गलत जानकारी दिएको आरोप लगाइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका