जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन् : सीके राउत

प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन् : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) को पार्टी स्थापना दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको उनको भनाइ थियो ।

राउतले भने, ‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्‍यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन आए । क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् । मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन् । त्यस्तो अवस्था छ, राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको राउतको भनाइ थियो । विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्नेमा राउतले जोड दिए ।

‘सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर विकृति पनि छ । राजनीतिक अस्थिरता बढ्यो । प्रदेश सरकार समेत हप्तैपिच्छे ढल्ने हो कि भन्ने चिन्ता छ ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा ढुक्कले पाँच वर्ष शासन चलाउन पाइन्छ ।’ उनले आफ्नो पार्टी र नेसपाबिच धेरै समानता भएको पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका