जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछाने भन्छन्- सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौँ

गृहमन्त्री लामिछाने भन्छन्- सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौँ

गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र दलका मन्त्रीहरूले तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको ठोकुवा गरेका छन् । उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा सभापति लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्‍यौँ मलाई थाहा छैन । तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । देशमा । म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरूले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन् ।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको बताएका लामिछानेले आफ्नो समयमा डा.भट्टराईले आफ्नो पद र जिम्मेवारीमा सके जति काम गर्ने व्यक्तिको उदाहरण भएको बताए ।

विगतमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरू दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे ।

यस्तै, लामिछानेले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सिके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन । तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन । अब जनताले दुःख पाउने होइन, नेताले दुःख पाउनुपर्‍यो ।’ उनले थपे, ‘नागरिकलाई दुःख नदिई हामीले गर्नुपर्ने परिवर्तनका लागि तयार छौँ ।’

उनले प्रदेश नेताहरूलाई तह लगाएर राख्ने पार्किङ स्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए । उनले व्यवस्थाभित्र तागत भएको तर इमानदारीपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे । लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रस्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका