जोडिनुहोस
  • होमपेज
  • विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाण्डौको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रसँगै प्राधिकरणले अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्रि फेब्रिकेटेड कन्टेनर प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाण्डौ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् । टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउडु बनाउन लागिरहेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलमा रहेको नयाँ बुटवल सबस्टेशनमा विपद् रिकभरी सेन्टरु निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो । विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल अहिले प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रूपमा सञ्चालन गरिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुई वटा जेनेरेटर तयारी अवस्थामा राखिएको छ । मर्मत तथा उपकरणहरू प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो ।

सेन्टर निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग सन् २०२१ को जुलाईमा सम्झौता भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत झन्डै एक अर्ब ४० करोड रुपैयाँ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका