जोडिनुहोस
  • होमपेज
  • कक्षामा पानी चुहिएपछि शिक्षिकाहरू छानामा चढेर मर्मत गरे

कक्षामा पानी चुहिएपछि शिक्षिकाहरू छानामा चढेर मर्मत गरे

तीन जना शिक्षिका भवनको छानामा चढेर मर्मत गर्दै गरेको फोटो सार्वजनिक भएको तनहुँको सरस्वती आधारभूत विद्यालयमा भवन जीर्ण हुँदा पठनपाठनमै समस्या रहेको पाइएको छ । पानी चुहिएर पढाइमा समस्या भएकैले शिक्षिकाहरू छानामा चढेर मर्मत गर्नुपरेको विद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले बताउनुभयो । बन्दीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयका शिक्षिकाहरू वन्दना भट्टराई, शुभकामना कुँवर र निर्मला थापाले हावाले उडाएको छाना मर्मत गरेका थिए । यही जेठ १७ गते आएको हावाहुरीले भवनको छाना उडाएपछि शिक्षिकाहरूले मर्मत गरेका उहाँले बताउनुभयो । विद्यालयका तीन वटा भवन भए पनि जीर्ण छन् । एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ३१ जना विद्यार्थी र सात जना शिक्षिक रहेका छन् । जेठ १७ गतेको हावाहुरीले पालिकामा पाँच वटा विद्यालय र केही घरका छाना उडाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । छाना उडाएका विद्यालयलाई पाल वितरण गरेको र सरस्वती आधारभूत विद्यालयको भवन मर्मत गर्नका लागि कार्यपालिकाबाट निर्णय भइसकेको उहाँले बताउनुभयो ।

धेरै टिप्पणी गरिएका