जोडिनुहोस
  • होमपेज
  • सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्रीको आपत्ति

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्रीको आपत्ति

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए ।

‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’ सांसद केसीको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र सङ्कीर्ण सोच भएको हुने भन्ने कूतार्किक अभिव्यक्ति दिएको शिक्षामन्त्री श्रेष्ठले बताइन् ।

स्वतन्त्र सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधकाबारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रूपमा चित्रण गरेको भन्दै उनले आपत्ति जनाएकी हुन् । ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ,’ उनले लेखेकी छन्, ‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।’

समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जाने उनको भनाइ छ । ‘शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो – समाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको,’ मन्त्री श्रेष्ठले लेखेकी छन् ।

सांसद केसी र मण्डलले सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ स्त्रीद्वेषी टिप्पणी राखेको भन्दै कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्ने उनको भनाइ छ । सांसद केसी र मण्डलका अभिव्यक्तिलाई अब के गर्ने भन्दै प्रश्न उठाएकी छन् ।

‘रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ?’ उनको प्रश्न छ । सांसद केसी र मण्डलको स्त्रीद्वेषी अभिव्यक्तिमाथि आपत्ति जनाएकी मन्त्री श्रेष्ठमाथि पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्माले आफूमाथि स्त्रीद्वेषी टिप्पणी गर्दा नाम लिन किन डराएको भन्दै मन्त्री श्रेष्ठमाथि पनि प्रश्न उठेको छ । मन्त्री श्रेष्ठले अमुक नेता भन्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाकी थिइन् ।

धेरै टिप्पणी गरिएका