जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार मुद्दामा दोषी ठहर , लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद

भ्रष्टाचार मुद्दामा दोषी ठहर , लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष अदालतले बिहीबार निर्धारण गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपैयाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय तोकेको हो ।

ठेकेदारबाट कमिशन लिएर आएको गैरकानुनी आम्दानीले भट्टराईले सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । लुम्बिनी विकास कोषमा ठेक्का लगाउने क्रममा निर्माण कम्पनीका सञ्चालकबाट घुसस्वरुप लिएको पैसा उनले आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको ठहर अख्तियारले गरेको थियो ।

अख्तियारका अनुसार घुसस्वरुप आएको रकमबाट उनले आमाको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा खरिद गरेका थिए । अदालतले यस प्रकरणमा जनकनन्दनीलाई सफाइ दिइसकेको छ ।

अख्तियारका अनुसार निर्माणसम्बन्धी ठेक्का पाएका सफिक अहमदबाट इन्जिनियर भट्टराईले अर्को व्यक्तिमार्फत ८० लाख रुपैयाँ घुस लिएका थिए । त्यही रकमले उनले अचल सम्पत्ति जोडेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको हो ।

धेरै टिप्पणी गरिएका