जोडिनुहोस
  • होमपेज
  • सङ्खुवासभामा पहिरोले ३ वटा घर बगायो, कालोपत्र गर्न ठिक्क पारेको सडकमा क्षति

सङ्खुवासभामा पहिरोले ३ वटा घर बगायो, कालोपत्र गर्न ठिक्क पारेको सडकमा क्षति

सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लाको कोक्तिमा गाउँमा पहिरोले तीन वटा घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको उहाँले बताउनुभयो ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उहाँहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहनुभएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार पहिरोबाट सङ्खुवासभाका विभिन्न ठाउँमा नौ वटा घर विस्थापित भएका छन् । खाँदबारी–४ सेकाहाका चार वटा घर पहिरोबाट विस्थापित भएका वडा नम्बर ४ का अध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिनुभयो । चिचिला गाउँपालिकाको वडा नम्बर १ र २ का पाँच वटा घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो सडक कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का खण्डमा पर्दछ । निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका