जोडिनुहोस
  • होमपेज
  • लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न  उपराष्ट्रपति यादवको जोड

लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न  उपराष्ट्रपति यादवको जोड

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीको समाना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश आजको आवश्यकता भएको बताएका छन् । लोकसेवा आयोगको ७४ औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्नसक्ने कर्मचारीको छनोटमा आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

आयोग योग्यताका सबै तत्वहरू अवलम्बन गरी परीक्षण विधिमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै अघि बढ्नु सकारात्मक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्दै आएकामा खुसी व्यक्त गरेका थिए ।

‘निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र यो सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी तथा कर्मचारी प्रशासनका विभिन्न विषयमा राय परामर्श दिनुपर्ने काम आयोगको हुने’ भन्ने पछिल्लो व्यवस्था निकै नै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

उपराष्ट्रपति यादवले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले ७३ वर्षयता आफ्नो मूल सिद्धान्त योग्यता, निश्पक्षता र स्वच्छतालाई प्रमुख आधार मानेर गर्दै आएको कार्यसम्पादनको उच्च प्रशंसा गरेका थिए ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सार्वजनिक निकायका कर्मचारी भर्ना र छनोटमा योग्यता प्रणाली स्थापित गर्न लोकसेवा आयोग अग्रणी संस्थाका रूपमा स्थापित भएको बताए । पाठ्यक्रम र परीक्षण पद्धतिमा सुधारका लागि आयोगका सदस्यको अध्यक्षतामा परीक्षण प्रविधि सुधार सुझाव समिति गठन गरी अध्ययनको कार्य भइरहेको जानकारी दिँदै अध्यक्ष रेग्मीले समितिबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम र परीक्षण प्रणालीलाई समयसापेक्ष बनाइने जानकारी दिए ।

सिफारिस भएको उम्मेदवारले कार्यक्षेत्रमा सकारात्मक नतिजा प्राप्त गर्नका लागि आवश्यक पर्ने क्षमता, सीप, व्यवहार, नैतिकता र सामूहिक व्यवहारको समग्र परीक्षण गर्ने गरी छनोट परीक्षा प्रणालीमा सुधार गर्नेतर्फ आयोग अगाडि बढेको उनले जानकारी दिए ।

आयोग र प्रदेश लोकसेवा आयोगहरूको सहभागितामा हरेक वर्ष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरी कार्यान्वयनमा लगिएको जानकारी दिँदै उहाँले सम्मेलनमार्फत लोकसेवा आयोगका स्थापित मूल्य, मान्यता, पद्धति र कार्यसम्पादनका सिद्धान्त प्रदेश लोकसेवा आयोगहरूमा अवलम्बन गर्न गराउनेतर्फ सकारात्मक भूमिका निर्वाह गरिएको उनले बताए ।

अध्यक्ष रेग्मीले निजामती सेवाका मूल्य मान्यता र सिद्धान्तको उद्बोध गर्ने संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा सङ्घ, प्रेदश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा कठिनाइ परेकाले शीघ्र जारी गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका