जोडिनुहोस
  • होमपेज
  • ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

ताप्लेजुङ । ताप्लेजुङमा मनसुन शुरु भएसँगै बाढी पहिरोको वितण्डा शुरु भएको छ । जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परी पाँच जनाले ज्यान गुमाई सकेका छन् ।

पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो । पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बिहिबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु रविनका बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो ।

वडा–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिए । बिहीबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताए । उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो । यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ । पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।

त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका–४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । उनका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पूर्ण क्षति, भान्सा घरमा पूर्ण क्षति साथै १४–१५ रोपनी मकै जग्गामा क्षति भएको छ ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षति भएको छ । यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौंको भौतिक क्षति भएको थियो । ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका