जोडिनुहोस
  • होमपेज
  • संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संघीय संसद् सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद् सचिवालयका कर्मचारीहरूलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन् । उनले अन्य कर्मचारीहरूले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भए पनि संसद्का कर्मचारीहरूले नपाएको भन्दै संसद्का कर्मचारीहरूमाथि अन्याय भएको बताए ।

उनले संसद्मा पढ्न राखिने अखबारहरूमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरूको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गरेका छन् ।

“जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरूले पाएका छन्, त्यो सुविधा संसद् सचिवालयका कर्मचारीहरूले नपाउने कुरा चाहिँ हुँदैन । कोभिड यता उहाँहरूले ओभरटाइम गरेको कुनै पनि भत्ता पाउनुभएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि,” उनले भने, “अरु मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसद्का कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरू हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसद्भित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद् हो कि होइन ।”

सांसद पन्तले संसद्लाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका