जोडिनुहोस
  • होमपेज
  • राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्ः प्रदीप पौडेल

राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्ः प्रदीप पौडेल

काठमाडौँ-नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन्।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसदलाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए। सांसद पौडेलले वृद्धवृद्धा र अपांगता भएकाहरुलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यु भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो। उहाँ फर्केपछि संसदको बैठक ६ पटक बसिसक्यो। तर यी दुवै भ्रमणको बारेमा औपचारिक रुपमा संसदलाई जानकारी गराइएको छैन। राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्। म ध्यानाकर्षण गर्न चाहन्छु।’

उनले थपे,‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले श्रावण मसान्तसम्म राष्ट्रिय परिचय पत्र दिने सूचना जारी गरेको छ । अहिले ग्याँसको सिडिन्डर बोकेर वृद्धवृद्धाहरु, अपांगता भएका व्यक्तिहरु सिडियो कार्यालय पुग्नुभएको छ । म गृह मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु–वृद्धवृद्धा समस्या भएका र अपांगता भएका व्यक्तिलाई घरघरमा नै परिचय पत्र दिने व्यवस्था गरियोस्।’

सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिएका थिए।

धेरै टिप्पणी गरिएका