जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशसभामा कांग्रेस र राप्रपाको मोर्चाबन्दी, बैठक बहिष्कार

कोशी प्रदेशसभामा कांग्रेस र राप्रपाको मोर्चाबन्दी, बैठक बहिष्कार

विराटनगर । विनियोजन विधेयकमाथिको छलफलका लागि सुरु भएको कोशी प्रदेशसभाको बुधबारको बैठक नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेका छन् ।

११ बजेका लागि बोलाइएको प्रदेशसभा केही ढिलो गरी सुरु भएको थियो । यद्यपि बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि बोल्ने समय पाएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सांसदहरूलाई अपमानित गरेर बजेट आएको भन्दै संसद् बैठक बहिष्कार गर्ने बताए । ‘रातोकिताब हेर्दा मन कुँडिएर आयो । हामीलाई प्रदेशको सम्मानित सदस्य भन्ने कि अर्कै ? भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ,’ तामाङले भने, ‘डेढ वर्ष बित्यो । सातौँ पटक सरकार बन्यो । यो अवस्था सिर्जना हुनुमा हामी कति जिम्मेवार बन्यौँ भन्ने तिर खोज्ने भन्दा पनि केही व्यक्तिहरूका लागि वडाका सदस्यले जस्तो आफ्नो क्षेत्रमा सीमित योजना राखिएका छन् । ८२–८३ वटा योजना एउटै पालिकामा पारिएको छ । एक सय वटा योजनासम्म कतिपय सांसदले आफ्नो क्षेत्रको भन्दै सार्वजनिक गरिएको पाइएको छ । बजेटको समानता यही हो ? जम्माजम्मी आफू बसेको वडा र त्यस वरपर मात्रै बजेट विनियोजन गर्नका लागि हामी माननीय भएका हौँ र ?’

तामाङले विनियोजन बजेटको छलफल हुन नसक्ने भन्दै कांग्रेस संसदीय दलले सभालाई बहिष्कार गर्ने निर्णय गरेको बताए । यस्तै राप्रपाकी सांसद सविना बजगाईंले पनि रातो किताबमा चार भाइको मात्रै योजना भेटेको महसुस गरेको बताइन् । ‘कोशी प्रदेशभित्रका अरू जनता यो प्रदेशका हुन् कि होइनन् ? हाम्रो क्षेत्रका जनताले पनि योजना माग गरेका थिए । तर, समावेश गरिएन । जसरी बजेटको सिलिङ सांसदहरूका लागि दिइएको थियो । त्यसरी दिँदा उहाँहरूले पैतृक सम्पत्ति बाँडफाँड गरेजस्तो भएको महसुस गरेका छौँ,’ बजगाईंले भनिन्, ‘जनताको हितमा बजेट नआएको र अमुक व्यक्तिको क्षेत्रमा मात्रै बजेट पारिएको हुँदा राप्रपाले यो आर्थिक विधेयक माथि गम्भीर ध्यानाकर्षण गराउँदै सदन बहिष्कार गरेको घोषणा गर्दछु ।’

कांग्रेस र राप्रपाले सदन बहिष्कार गरेसँगै बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । प्रदेशसभा बैठकमा बजेट (आर्थिक विधेयक)माथिको छलफल गर्ने कार्यसूची थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका