जोडिनुहोस
  • होमपेज
  • मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र

मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र

झापा– मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् ।

कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राही काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका जनाइएको छ ।

मेचीनगर नगरपालिकामा १५ वटै वडामा नागरिक बडापत्र राखिएका छैनन् । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयले यो नियम पालना गरेका छैनन् ।

मेचीनगर–१० का सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झन्झट बेहोर्नुपरेको गुनासो गरिन् । उनले आफूले कर्मचारीसँग सोधेरै काम गराउनुपरेको र सरकारी दस्तुर कति लाग्ने भन्नेबारे पनि कर्मचारीबाटै जानकारी लिनुपरेको बताइन् । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उनको भनाइ छ ।

नागरिक बडापत्र हालसम्म कार्यालयमा नभएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताए । मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताए । उनले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अन्यको बाटो नहेर्ने र आफैँ नागरिक वडापत्र राख्न लागेको बताए ।

धेरै टिप्पणी गरिएका