जोडिनुहोस
  • होमपेज
  • योग दिवसलाई जनस्तरमा सम्बन्ध बढाउने माध्यम बनाउँदै भारत

योग दिवसलाई जनस्तरमा सम्बन्ध बढाउने माध्यम बनाउँदै भारत

काठमाडौं – भारत सरकारले योग दिवसलाई नेपालमा सम्बन्ध विस्तारको माध्यम बनाउँदै लगेको छ । भारतकै पहलमा १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको थियो ।

जुन २१ मा मनाइने योग दिवसको केही दिनअघिबाटै नेपालस्थित भारतीय निकायहरू देशका विभिन्न सहरमा यो दिवसलाई उत्सवका रुपमा मनाइरहेको छ । भारतले योग दिवसमा नेपालका सर्वसाधरणलाई पनि सहभागी गराएर सम्बन्ध जनस्तरमा लैजाने कोसिस गरेको हो ।

‘बितेको दशकमा जुन प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो । त्यो स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको छ’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहित विभिन्न देशका समकक्षीलाई शुक्रबार पठाएको सन्देशमा उनले भनेका छन्, ‘योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरूले अपनाएका छन् ।’

भारतले योग दिवसलाई सम्बन्ध बिस्तारको माध्यम बनाउँदै जनस्तरमा पुगेर मनाइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करण मनाउन काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्य दूतावासले विभिन्न स्थानमा कार्यक्रम गरेका हुन् ।

काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौंडा, रौतहटको गौर र वीरगञ्जको पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम गरिएको हो ।

यस वर्ष ‘स्वयम् र समाजका लागि योग’ मूल नारासहित भारतीय दूतावासले मुख्य कार्यक्रमअघि नै गत जेठ २५ गते काठमाडौंमा पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र माइती नेपालमा व्याख्यानसहितको कार्यक्रम गरिएको थियो ।

उता भारतीय राजदूतावासले यही असार ५ गते पोखराको फेवा ताल किनारामा ४५० भन्दा बढी सहभागीहरूका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको छ ।

त्यही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाबारेमा आयुर्वेद अभ्यासकर्तासँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्श गरेको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा प्राध्यापकहरू सहभागी थिए ।

राजदूतावासले बिहीबार मात्रै पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गऱ्यो । सराङ्कोट भ्यू पोइन्टबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै योग अभ्यास गराइएको छ ।

पुम्दीकोटस्थित शिव मन्दिरबमा आध्यात्मिक वातावरण र मनोरम दृश्य एकैसाथ हेर्दै योग सिकाइएको छ । पोखराकै रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुपमा पनि योग अभ्यास गराइएको छ ।

त्यसक्रममा योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिए ।

दूतावासले लुम्बिनीमा बिहीबार नै ९ सयभन्दा बढी सहभागीका लागि एक बृहत् योग प्रदर्शन आयोजना गरेको छ । जहाँ लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा लगायत अन्य प्रदेशस्तरीय नेता सहभागी भए ।

लुम्बिनीका मुख्यमन्त्री महराले भगवान बुद्धको जन्मस्थलमा योग कार्यक्रम आयोजना गरेर भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा धन्यवाद दिए ।

त्यहाँ भारतीय राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वको चर्चा गरे ।

उता पोखरा महानगरपालिकासँग सहकार्य गर्दै शुक्रबार पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको छ । सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको ठूलो कार्यक्रम यहाँ भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यस क्षेत्रका ५ हजारभन्दा बढी योगमा अभिरुचि राख्नेले सहभागिता जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालले समर्थन गरेको बताए ।

उनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो साँस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिए ।

भारतीय राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने बताए । उनले नेपालका महत्वपूर्ण पर्यटकीयस्थलहरूमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्न यस्ता ठूला कार्यक्रम आयोजना गरेकोमा दूतावासलाई धन्यवाद दिए ।

उता भारतीय महावाणिज्य दूतावास वीरगञ्जले पनि जनकपुर, चितवन, वीरगञ्ज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करणलाई समापन गर्न भारतीय दूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा शनिबार लमजुङमा योग प्रदर्शन कार्यक्रम गर्दैछ ।

धेरै टिप्पणी गरिएका