जोडिनुहोस
  • होमपेज
  • ६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग नेपाली पासपोर्ट पनि

६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग नेपाली पासपोर्ट पनि

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका एक चिनियाँबाट नेपाली नागरिकता सहितका विवरणहरू फेला परेका छन् ।

१२ जेठमा बौद्धबाट पक्राउ परेका ४१ वर्षीय चिनियाँ नागरिक गंगा टासीबाट काठमाडौंबाटै जारी भएको नेपाली नागरिकता फेला परेको छ । राजु र कुंग भनेर चिनिने टासीबाट बरामद भएको नेपाली नागरिकता सक्कली रहेको समेत पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

नागरिकतासँगै उनीबाट नेपाली राहदानीसमेत भेटिएको सीआईबी स्रोतले जानकारी दियो । त्यसैगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि भेटिएको छ ।

कुंग टासी शेर्पाको नाममा ‘ए’ र ‘बी’ वर्गको नेपाली लाइसेन्स भेटिएको छ । उक्त लाइसेन्स पनि सक्कलै रहेको सीआईबीले जनाएको छ । करिब १ महिनाअघि पक्राउ परेका टासीबाट प्रहरी ७ राउन्ड गोली लोड भएको जर्मन अटोमेटिक पेस्तोलसमेत बरामद गरेको छ । उक्त पेस्ताल सुन तस्करीमै प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘सुन नलुटियोस् भन्ने हिसाबले पेस्तोल बोक्ने गरेको देखिन्छ,’ सीआईबीका एक अधिकारीले भने । टासीको कोठाबाट २७ लाख नगद पनि सीआईबीले बरामद गरेको छ । यसअघि आइतबार राति कपनबाट पक्राउ परेका चिनियाँ नागरिक सेराप र शेरब ग्याल्बो भनिनेसँग पनि नेपाली नागरिकता भेटिएको थियो । ६ किलो सुन र ४८ लाखसहित पक्राउ परेका उनीबाट जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नेपाली नागरिकता भेटिएको थियो । उक्त नागरिकता पनि सक्कल नै रहेको पाइएको छ ।

सोनाम गुरुङको नाममा उनले नेपाली नागरिकता लिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनी सन् २०१८ देखि फ्लायट भाडामा लिएर काठमाडौंमा बस्दै आएका थिए ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा सरकारलाई प्रतिवेदन बुझाएपछि कार्यान्वयनका लागि सीआईबीलाई जिम्मा दिइएको थियो । आयोगकै प्रतिवेदनका आधारमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको सीआईबीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

धेरै टिप्पणी गरिएका