जोडिनुहोस
  • होमपेज
  • महिला कर्मचारीको मातृत्व अधिकारमा सुनिश्चित गरियोस् : तोसिमा कार्की

महिला कर्मचारीको मातृत्व अधिकारमा सुनिश्चित गरियोस् : तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने माग गरेकी हुन् ।

‘देशैभरिका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्नका लागि देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्,’ उनले भनिन् ।

लैङ्गिक समानताको नारा लगाए पनि कार्यस्थलहरू लैङ्गिकमत्री नभएको उनको गुनासो छ । बराबर तलब, स्रोत साधनमा बराबर पहुँच, कार्यस्थलमा दुर्व्यवहार र विभेद लगायत धेरै कुरामा सुधार आवश्यक रहेको सांसद कार्कीले बताइन् ।

विशेष गरी सुत्केरी र गर्भवती महिला कर्मचारी श्रम हकमा सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिइन् । ‘सिंहदरबारभित्र महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत रहेको शिशु स्याहार केन्द्रमा निजामती कर्मचारीका ७५ जना शिशु राख्ने गरिएको छ । जहाँ एक आयाले धेरै बच्चा हेर्नुपर्ने अवस्था छ । त्यहाँ कर्मचारी थप्नुपर्ने र बच्चाले खेल्ने ठाउँ बनाउनुपर्नेमा यो पालि बजेट घटाइएको छ । अब कर्मचारीले दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ उनले भनिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका