जोडिनुहोस
  • होमपेज
  • सांसद पौडेलको प्रश्न– देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट ?

सांसद पौडेलको प्रश्न– देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ‘देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूले आफूले भनेको नमानेको बताएको उल्लेख गर्दै ‘योभन्दा लज्जास्पद कुरा के हुन्छ ?’ भन्दै प्रश्न गरे ।

उनले सरकार अराजकतातिर गइरहेको जिकिर गरे । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसद्‌मा रहेको भन्ने र रक्षामन्त्री हरि उप्रेतीले आइतबार दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरूप नरहेको उनले बताए ।

मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

संसद्को शून्य समयमा सांसद प्रदीप पौडेलको भनाइ पढ्नोस्–
केही दिनअघि गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसद्‌मा रहेको अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीज्यूले प्रश्नहरूको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरू राख्नुभयो, त्यो उहाँको पदीय मर्यादाअनुरूप छ भन्ने मलाई लाग्दैन । बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानुभयो । सरकारले संसद्लाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ– मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुनसक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु– सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु ।

धेरै टिप्पणी गरिएका