जोडिनुहोस
  • होमपेज
  • विदेशमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन माग

विदेशमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले श्रमका निम्ति खाडी मुलुकमा गएका मध्ये १५ वर्षमा ११ हजार ७६० जनाले ज्यान गुमाएको बताएकी छन् । यसरी ज्यान गुमाउनेमध्ये ८१ प्रतिशत पीडित परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले विदेशमा मृत्यु भएकाका परिवारले क्षतिपूर्ति पाउनुपर्ने न्यूनतम अधिकार भएको बताइन् । “२,२०० श्रमिकका परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् भने बाँकी ८१ प्रतिशत परिवार यो अधिकारबाट वञ्चित छन्,” उनले भनिन् ।

सांसद गौतमले देश रेमिट्यान्सको आयले धानेको उल्लेख गरिन् । प्रत्येक वर्ष कामका सिलसिलामा विदेशिनेको संख्या बढ्दो रहेको उनले बताइन् । मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको उनले सुनाइन् । प्रत्येक दिन सरदर चार शव बाकसमा भित्रिरहेको तितो यथार्थ नेपालीले भोगिरहेको उनको भनाइ छ ।

कामका निम्ति विदेश जानेका हकमा लागु बिमाका सर्तलाई सच्याउनुपर्नेमा उनले जोड दिइन् । कम्पनीले जिम्मा लिएको अवधि अर्थात् २४ घण्टा नै बिमाको व्यवस्था मिलाउन उनले आग्रह गरिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका