जोडिनुहोस
  • होमपेज
  • कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैन : मन्त्री तामाङ

कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैन : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताए । उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए ।

मन्त्री तामाङले योजना माग गरेर आएको निवेदनहरु मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका २१५ वटा गुम्बाहरू सरकारको निकायमा सूचीकृत भएको र ती गुम्बाहरू बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरूलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मैले प्राप्त भएको निवेदन धेरै त समेट्न सकिएन होला तर सकभर हामीले धर्म निरपेक्ष मुलुकको सरकार भएको नाताले र त्यसको पक्षपाती पनि भएको नाताले हामीले अधिकतम त्यसलाई सन्तुलित बनाउनुपर्छ । जुन जात विशेष, धर्म विशेष, कुनै सम्प्रदाय विशेषमा केन्द्रित हुने खालको कार्यक्रम गर्नुहुँदैन भन्ने कुरामा म सचेत थिएँ । त्यही हिसाबले पनि त्यसलाई सन्तुलन मिलाउने गरी राखिएको छ । माग भएर आएको मध्ये केही मस्जिदहरू पनि सम्बोधन भएको छ ।’

मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा बिस्तार गरी उडान सङ्ख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका