काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असाञ्ज रिहा भएका हुन् ।
५२ वर्षीय असाञ्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो।अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।
जुलियन असाञ्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए । उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । इक्वेडर सरकारले शरण फिर्ता लिएपछि अप्रिल २०१९ मा असान्जलाई बेलायतमा गिरफ्तार गरिएको थियो । बिबिसीका अनुसार अब असाञ्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।
विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ– ‘जुलियन असाञ्ज स्वतन्त्र भएका छन् ।’ १९०१ दिनको जेलपछि उनी जुन २४ मा बेलमार्श जेलबाट बाहिर आएका छन् । लन्डनको हाइकोर्टले उनलाई जमानत दिएको छ । उनलाई स्ट्यास्टेड विमानस्थलमा रिहा गरिएको हो, जहाँबाट उनले बेलायत छोडेका छन् ।
विकिलिक्सका अनुसार असाञ्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।
जुलियन असाञ्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।