जोडिनुहोस
  • होमपेज
  • करमा स्थिर नीति कायम गर्न चाहन्छौँ: अर्थ सचिव मरासिनी

करमा स्थिर नीति कायम गर्न चाहन्छौँ: अर्थ सचिव मरासिनी

अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायिक वातावरण निर्माण गर्न स्थिर तथा अनुमान योग्य कर नीति आवश्यक‍ रहेको महसुस गरेको बताएका छन्।

मंगलबार मौद्रिक नीति पूर्वको छलफल कार्यक्रममा सचिव मरासिनीले व्यावसायिक वातावरण सिर्जना गर्नको लागि स्थिर नीति खोजिएको भन्दै आफूहरू त्यसमा केन्द्रित भएको बताएका छन्। आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा चलाइएका करका दरले सरकारको नीति विश्‍वासयोग्य नभएको निजी क्षेत्रले प्रतिक्रिया दिएको अवस्थामा अर्थसचिव मरासिनीले यस्तो बताएका हुन्।

उनले अहिले ठूलो बजेटको दबाब हुँदाहुँदै पनि सरकारले करका दरहरू धेरै नबनाउने नीतिका साथ सानो आकारको बजेट ल्याइएको बताए। स्थिर कर नीतिको लागि स्थिर सरकारको आवश्यक परेको उनको संकेत छ।

‘हामीले अहिलेको आर्थिक विधेयकबाट कम्तीमा पाँच वटा क्षेत्रमा पाँच वर्ष कर परिवर्तन नहुने गरी घोषणा गर्न चाहेका थियौँ। तर, सरकार छिटो–छिटो परिवर्तन भइरहेको छ, भोलि बन्ने सरकारलाई दबाब पर्छ भनेर घोषणा गरिएन,’ उनले भने।

आगामी वर्षको बजेट ल्याउने क्रममा सरकारले प्राथमिकीकरण गरेर रकम विनियोजन गरेको उनको दाबी छ। सिर्जित दायित्व अघि बढेका परियोजनालाई बजेट केन्द्रित गरिएको उनको भनाइ छ। उनले अर्थतन्त्र चलायमान बनाउनको लागि बजेटबाट केही नीति अघि बढाइएको र त्यस्ता नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने बताए।

बैंकमा ६ खर्ब रूपैयाँभन्दा बढी लानीयोग्य पुँजी थुप्रिएको विषय अर्थमन्त्रालयको पनि चासो भएको उनले बताए। यस्तो पैसा बजारमा लगानी गर्नको लागि सरकारको तर्फबाट नीतिगत सहजीकरण हुने उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका