जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोबाट भएको क्षतिबारे सांसद्ले गराए सरकारको ध्यानाकर्षण

बाढीपहिरोबाट भएको क्षतिबारे सांसद्ले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बाढीपहिरोबाट भएका क्षतिबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोका कारण जनधनको क्षति भएको, सवारी आवगमनमा समस्या भएको विषय उठाएका हुन् । उनीहरूले घाइतेहरूको उपचार र मृतकका परिवारलाई राहत तुरून्त उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

आकस्मिक समयमा बोल्दै सांसद इश्वरीदेवी न्यौपानेले मनसुनको पानी किसानको लागि अमृत बराबर हुने बताइन् । तर, बाढीपहिरो चट्याङलगायतका कारण ज्यान गुमाउने जनताको संख्या बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

“मनसुनको पर्खाइमा किसानको आँखा आकाशमा हुन्छ । यो पानी अमृत बरबर हुन्छ, जसले वर्षभरि खाद्यान्नको जोहो हुन्छ,” उनले भनिन्, “मेरो निर्वाचन क्षेत्रमा हिजोमात्र जयराम चौधरी र शालिन चौधरीले चट्याङ लागेर ज्यान गुमाए । उनीहरू खेतमा काम गर्न गएका थिए । किसान खेतमा नगएर पनि हुँदैन, सरकारको ध्यानाकर्षण होस् घाइतेलाई उपचार र राहत तथा मृतक परिवार राहत उपलब्ध गराइयोस् ।”

यस्तै सांसद मानवीर राईले असार ११ र १२ को वर्षको कारणले जनधनको क्षति भएको बताए । जसको असर सोलुुखुम्बुको सदरमुकाम सल्लेरीबाट खुम्बुक्षेत्र जाने बाटोमा परेको उनले बताए । पहिरोका कारण जिल्लाको विभिन्न पालिकामा घर बगाएर जनधनको क्षति भएकोमा उनले सरकारको ध्यानाकर्षण गराए ।

आकस्मिक समयमा बोलेका सांसद अमनलाल मोदीले पनि देशभर बाढीपहिरोका कारण जनधनको क्षति भएको भन्दै सदनमा डिग हानेर बस्नेभन्दा सरकार उद्धार कार्यमा लाग्नुपर्ने बताए । उनले विराटनगर महानगरपालिका जलमग्न भएको तथा बाढीले कुनै किसिमको आवागमन गर्ने स्थिति नभएको भन्दै चाँडै उद्धार गर्ने ध्यान कसैको नगएकोमा आपत्ति जनाए ।

“सरकारलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु, कुराले चिउरा भिज्दैन, दही नै चाहिन्छ । यहाँ ठूलाठूला कुरा गएर भएन । तुरुन्त उद्धार गर्नुपर्छ पर्छ, मान्छे बस्ने स्थिति छैन,” उनले भने । सांसद रामहरि खतिवडाले पनि ओखलढुंगाको विभिन्न गाउँपालिकामा पहिरो गएका कारण जनधनको क्षति भएको बताए । पहिरोका कारण देवकुमारी खत्रीको मृत्यु भएको तथा बाबुराम, मनुका, नवराज खत्रीको जसोतसो उद्धार गरेर उपचार भइरहेको उनले बताए ।

साथै उनले बाढीपहिरोका कारण जनधन मात्र नभइ बाटोघाटो, खानेपानी, विद्युत् लाइनमा असर गरेकोमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद खतिवडाले गत वर्षको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिबारे गृह मन्त्रालयको विपद् प्राधिकरणमा फाइल आए पनि त्यसको बेवास्ता भएको उल्लेख गरे । “विपद्का फाइल गृह मन्त्रालयमा थन्केर बसेका छन् । गृहमन्त्रीज्यू तपाईं फाइल धेरै हेरिरहनुभएको छ । कमसेकम विपद्‌मा परेका फाइल जनतालाई राहत र पुनर्स्थापना दिने फाइलमा पनि गृहमन्त्रीको ध्यान जाओस्,” उनले भने ।

धेरै टिप्पणी गरिएका