जोडिनुहोस
  • होमपेज
  • प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा बजेट थुप्रिएको छैन : अर्थमन्त्री पुन

प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा बजेट थुप्रिएको छैन : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रभावशाली नेताको क्षेत्रमा मात्रै विनियोजन भएको विषयको खण्डन गरेका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सांसदहरूले उठाएको प्रभावशाली नेताको क्षेत्रमा बजेट थुप्रिएको विषयमा सत्यता नभएको बताएका हुन् ।

सांसदहरूले मन्त्री, प्रधानमन्त्री वा नेताको प्रभावका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने विषय उठान गरेका थिए । यो विषयमा बोल्दै अर्थमन्त्रीले भावी दिनमा सांसदले उठाएका विषयलाई थप जिम्मेवारीपूर्ण ढंगले उठान गर्ने समेत बताए ।

बजेट पूर्वमा थुप्रिएको भन्ने विषयमा समेत सत्यता नरहेको पुनको भनाई छ । ‘अर्थमन्त्री पश्चिमको, बजेट पूर्वमा थुप्रिएको छ भन्ने विषयमा सत्यता लाग्दैन मलाई,’ उनले भने । मन्त्री पुनले कतिपय जिल्लामा धेरै सांसद भएकाले न्यूनतमका दरले बजेट विनियोजन गर्दा पनि धेरे देखिने गरेको सुनाए ।

‘कतिपय जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छन्,’ उनले भने, ‘ती जिल्लामा न्यून बजेट देखिँदो रहेछ ।’ तर दुई वा दुईभन्दा बढी जनप्रतिनिधि रहेको जिल्लामा न्यूनतम बजेट विनियोजन गर्दा पनि धेरै देखिएको अर्थमन्त्री पुनको भनाई छ । यस्तै कर्णालीमा मन्त्रालयगत आयोजनामा थुप्रिएको विषयलाई समेत अर्थ मन्त्रीले प्रस्ट्याए ।

‘कर्णालीमा मन्त्रालयगत बजेट धेरै नै विनियोजन भएको छ,’ अर्थमन्त्री पुनले भने, ‘तर यसले प्रदेशगत असन्तुलन भन्न मिल्दैन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका