जोडिनुहोस
  • होमपेज
  • २ सय ८ किलो गाँजासहित पाँच जना पक्राउ

२ सय ८ किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ, बारा र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट अवैध लागु औषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागु औषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ ।

यता काठमाडौँ महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागु औषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रुपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका-६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगन्ज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भारत पूर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागु औषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै टिप्पणी गरिएका