विराटनगर । अविरल वर्षासँगै बाढीपहिरो, चट्याङबाट पछिल्ला चार दिनमा कोसी प्रदेशमा नौजनाको मृत्यु भएको छ । यो अविधमा चट्याङ लागेर मात्र तीनजनाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
चट्याङ लागेर झापाको कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, झापाकै गौरादह नगरपालिका–८ का ४२ वर्षीय विकास गिरी र सुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेशकुमार चौधरीको मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा स्थानीय ११ वर्षीय श्याम राईको मृत्यु भएको छ । साथीहरूसँग स्कुल जाने क्रममा उनलाई बाढीले बगाएको थियो ।
उनीसँगै स्कुल जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रविन राई र १२ वर्षीय अर्पन लिम्बूलाई समेत खोलाले बगाएको थियो । स्थानीय र प्रहरीले उनीहरूको सकुशल उद्धार गरेका थिए ।
मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ स्थित बुढीखोलाले बगाउँदा स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको छ । माछा मार्ने क्रममा सोही खोलाको बाढीले बगाएका दुईजना अझै बेपत्ता छन् । उता, झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलवासा खोलाले बगाउँदा डेढ वर्षीय बालक रिहान सतारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५, थुम्कीमा पहिरोले घर पुरिँदा स्थानीय ३५ वर्षीया श्रीमती देवकुमारी खत्रीको मृत्यु भएको छ । खेतमा जमेको पानीमा डुबेर मोरङको रतुवामाई नगरपालिका–५, मल्दैया टोलका दुई वर्षीय बालक मोहमद मुसाको मृत्यु भएको छ । मोरङकै रंगेली नगरपालिका–४ स्थित घाँगी खोलाले बगाउँदा ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।