काठमाडौँ । प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन् । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरूकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताउनु भयो ।
सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन् – ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरीत कदम हो । यसलाई तत्काल कानुनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।