जोडिनुहोस
  • होमपेज
  • कोसीमा बाढीको क्षति रोक्न उच्च सतर्कता

कोसीमा बाढीको क्षति रोक्न उच्च सतर्कता

काठमाडौं । सप्तकोसी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो । बाढी पूर्वतयारीलाई लिएर कोसी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ ।

बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । बाढीसँगै कोसीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको छ ।

सप्तकोसीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका क्षेत्रको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ । ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । टोलीले कोसी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण समेत गरेको छ । सप्तकोसी नदीमा केही दिन यता दुई लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।

सप्तकोसीको जलस्तर बढ्दा पछिल्ला केही वर्षयता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा बर्सेनि नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।

धेरै टिप्पणी गरिएका