जोडिनुहोस
  • होमपेज
  • राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समितिसँग हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।”

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे ।

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उनले भने, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्ग प्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।”

“विनाशकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनः निर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो”, उनले स्मरण गरे ।

धेरै टिप्पणी गरिएका