नयाँ दिल्ली । भारतको राष्ट्रिय महिला आयोगका अध्यक्ष रेखा शर्मामाथि कथित अपमानजनक टिप्पणी गरेको भन्दै त्रिणमूल कांग्रेस(टिएमसी)का सांसद महुवा मोइत्राविरुद्ध दिल्ली प्रहरीमा एफआईआर दर्ता भएको छ ।
दिल्ली प्रहरीको स्पेसल सेलले मोइत्राविरुद्ध भारतीय न्याय संहिताको धारा ७९ अन्तर्गत एफआईआर दर्ता गरिएको जनाएको छ ।
यही ५ जुलाइका दिन महिला आयोगको एक्समा मोइत्राले अध्यक्ष शर्मालाई अपमान गरेको भनेर स्वतः संज्ञान लिइएको जनाइएको थियो । आयोगले सो मामिलामा एफआइआर दर्ता गरेर तीन दिन भित्र जानकारी दिन प्रहरीलाई आदेश दिएको थियो ।
के थियो मामिला ?
आयोगका अध्यक्ष शर्मा ४ जुनमा उत्तर प्रदेशको हाथरसमा भागदौडपछि ठूलो संख्यामा मानिसको मृत्यु भएको घटनास्थलमा पुगेकी थिइन् ।
सोही क्रममा पत्रकार निधि राजदानले ‘उनी आफ्नो छाता लिएर किन हिंड्न सक्दिनन् ?’ भन्ने प्रश्न सोधेकोमा त्यसमा मोइत्राले टिप्पणी गरेकी थिइन् । त्यसलाई लिएर आयोगले आपत्ती प्रकट गरेको जनाइएको छ ।
५ जुलाइमा मोइत्राले एक्समा आयोगको स्वतः संज्ञानमा तुरुन्तै कारवाही गर्न चुनौति दिँदै आफू पश्चिम बंगालको नादियामा भएको जनाएकी थिइन् । मोइत्रालाई गएको १७ औं लोकसभामा सांसद पदबाट निस्कासित गरिएको थियो । यसपालिपनि सुरुमै उनी विवादमा तानिएको बीबीसीले जनाएको छ ।