जोडिनुहोस
  • होमपेज
  • पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

दमौली– पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ ।

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुंगा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए।

उनले भने, ‘शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।’ केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए।

उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका