जोडिनुहोस
  • होमपेज
  • बागमतीका ६ जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

बागमतीका ६ जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास समितिले विभिन्न ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।

समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष २० असारमा नियुक्त गरेको हो । चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।

६ जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भागबण्डा गरेर अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ । प्रदेशको युवा तथा खेलकुद मन्त्री एकीकृत समाजवादीकी रमा आले मगर र परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले ४ जिल्ला अध्यक्ष माओवादी केन्द्रलाई र २ जिल्ला अध्यक्ष एकीकृत समाजवादीलाई भागबण्डा लगाएर अध्यक्ष नियुक्त गरेका हुन् ।

भण्डारी माओवादीको कोटाबाटै खेलकुद विकास समितिको सदस्य सचिव नियुक्त भएका थिए । परिषद्ले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा विरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरेको जानकारी दिएको छ ।

दलीय भागबण्डा अनुसार जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको सदस्य सचिव भण्डारीले स्वीकार गरे । काठमाडौं र सिन्धुली जिल्ला एकीकृत समाजवादीलाई भाग लगाएको र बाँकी जिल्ला माओवादीले लिएको उनले बताए । मा

माओवादीले खेलकुद विकास समितिको अध्यक्ष लिएको जिल्ला धादिङ मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुर सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सिन्धुपाल्चोक भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको र काभ्रे मुख्य सचेतक रत्नप्रसाद ढकालको गृहजिल्ला हो ।

‘अध्यक्षहरु दलीय भागबण्डा अनुसार नै नियुक्त हुने हो । अर्को सरकार आएपछि अध्यक्ष नियुक्त गर्दा विवाद हुने भएपछि हामीले अहिले नै ६ वटामा अध्यक्ष नियुक्त गरेका हौं’, भण्डारीले भने । अर्को सरकारलाई ७ वटा जिल्ला अध्यक्ष नियुक्त गर्ने बाटो राखिदिएको भण्डारीको भनाइ छ ।

‘बाँकी जिल्ला अध्यक्ष अर्को सरकारले नियुक्त गरोस् । हामीले उहाँहरुलाई पनि छोडिदिएका छौं’, उनले भने । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि बागमतीमा पनि सरकार फेरबदल हुने सम्भावना छ ।

नवनियुक्त अध्यक्षहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि दुई वर्ष अवधिको कार्यकाल सकिएर साढे ३ महिनाअघि १३ वटै जिल्ला अध्यक्ष बाहिरिएका थिए । परिषद्ले दुई महिना अगाडि मात्रै खेलकुद विकास नियमावली संशोधन गरेर जिल्ला खेलकुद विकास समिति अध्यक्षको कार्यकाल ४ वर्ष पुर्‍याएको थियो । प्रदेश खेलकुद विकास नियमावली, २०७६ को दोस्रो संशोधन गरेर कार्यकाल ४ वर्ष पुर्‍याइएको सदस्य सचिव भण्डारीले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका