जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन समितिले पीडितसँग छलफल गर्ने

सहकारी छानबिन समितिले पीडितसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले भोलि (बुधबार) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

“भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएका छौँ । सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ,” थापाले भने ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका