जोडिनुहोस
  • होमपेज
  • २४ बितिसक्दा त्रिशूलीमा खसेका बससहित करिब ५० जनाको अवस्था अझै अज्ञात

२४ बितिसक्दा त्रिशूलीमा खसेका बससहित करिब ५० जनाको अवस्था अझै अज्ञात

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा शुक्रबार पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञात छ । नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिन जाने बाटोमा पर्ने सिमलतालमा लेदोसहितको पहिरोले बगाएका बस र सवार यात्रुको अवस्था घटानाको २४ घण्टा बितिसक्दा पनि अज्ञात रहेको हो ।

पहिरोले बगाएका दुईमध्ये एउटा बसका तीन यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् । वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा पुर्‍याएको हो ।

एञ्जल यातायातको बसमा २४ जना रहेको विवरण आए पनि १७ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको र गणपति यातायातको बसमा ३० जना सवार रहेको विवरण आए पनि २६ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बताए । दुर्घटनामा परेका दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण सार्वजनिक हुन सकेको छैन ।

घटनालगत्तै प्रहरीको टोली परिचालन भए पनि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली ८ बजेपछि मात्रै खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीका १२ गोताखोरसहित ७० जना र नेपाली सेनाका ५ गोताखोरसहित ५५ जना बेपत्ता यात्रुको खोजीमा जुटेका थिए । तर त्रिशूली नदीमा आएको बाढी र पानीको बहाव निकै तेज रहेका कारण गोताखोरहरूले बस डुबेको ठाउँसमेत पहिचान गर्न सकेका छैनन्  ।

शुक्रबार साँझ पौन सात बजे उद्धार स्थगित गरिएकोमा आज (शनिबार) बिहानैबाट फेरि खोजी सुरु गरिएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका