काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् ।
सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । सबैले खेलाडीलाई प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गरे । युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताए । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि उनको भनाइ थियो । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभावी लगानी गर्नेकुरा अब नहुने स्पष्ट पारे ।
“हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ,” उनले भने ।
मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए ।