जोडिनुहोस
  • होमपेज
  • अमेरिकी सभामुखले मागे सेक्रेट सर्भिसका प्रमुखको राजीनामा

अमेरिकी सभामुखले मागे सेक्रेट सर्भिसका प्रमुखको राजीनामा

वासिङटन । अमेरिकी संसद्का सभामुख माइक जोहन्सन र अरू वरिष्ठ रिपब्लिकनले अमेरिकाको सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चियटललाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

गएको शनिबार पेन्सिलभानियामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरिएको थियो । त्यहाँ सुरक्षा दिन नसकेको भन्दै सेक्रेट सर्भिसका प्रमुखको राजीनामा मागिएको हो । गोली हान्ने व्यक्ति कसरी कार्यक्रमस्थलभन्दा अगाडिको भवनको छतमा पुग्यो र सुरक्षा निकायले किन ध्यान दिएन भन्ने विषयलाई मुख्य ‘इस्यु’ बनाइएको छ । सभामुख जोहन्सनले यो घटना माफ गर्न नसकिने खालको भएको बताएका छन् । उनले यस्तो अभिव्यक्ति दिनुअघि अमेरिकाको सुरक्षा कार्यान्वयन निकायका अधिकारीले तल्लो र माथिल्लो सदनका सांसदलाई उक्त हत्या प्रयासबारे ‘ब्रिफिङ’ गरेका थिए ।

यसैबीच, एबीसी न्युजले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षीय युवक थोमस माथ्यु क्रुक्सले आफ्नो फोनमा राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर सर्च गरेको पाइएको सुरक्षा अधिकारीले सांसदहरूलाई ब्रिफिङ गरेका थिए । उनले बटलरको कार्यक्रम र डेमोर्क्र्याटिक पार्टीको अर्को महिना शिकागोमा हुने सम्मेलनको तिथि पनि सर्च गरेको पाइएको जनाइएको छ । त्यो सर्चले गोली हान्नुको उनको उद्देश्य पत्ता नलागेको सुरक्षा अधिकारीले बताएका छन् ।

हतियार राख्ने बक्स उसले जुलाई ५ मा वालमार्टमा किनेको, होम डिपोटमा गएर पाँच फुटको भर्‍याङ किनेको तर त्यो चढ्नका निम्ति प्रयोग गरेको नपाइएको र घटनास्थालमा पनि नदेखिएको सुरक्षा निकायले सांसदलाई जानकारी गराएको छ । उनी एयर कन्डिसनिङ युनिट हुँदै छतमा पुगेको समेत जानकारी गराइएको छ ।

उक्त विषयको छानबिनका क्रममा २०० अन्तर्वार्ता लिइएको र १४ हजार तस्बिर हेरिएको समेत सुरक्षा निकायले जानकारी गराएको छ । एनबीसी न्युजबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका