सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित बिषयमा सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायसम्बन्धी केही मापदण्डका बिषयमा सहमतिनजिक पुगेको सदस्यहरूले बताएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपतिहरुका बिषयमा छलफल गर्दै सहमति खोज्ने प्रयास गरिएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितकेन्द्रित गरेर टुङ्गाउन अससहमतिका चार बुदाँमा सहमतिका लागि छलफल भएको बताए ।
मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटी मागदावी लिएर जाने बिषयमा सहमतिनजिक पुगेको उनको भनाइ छ । उनले चार बिषयमा ७० प्रतिशत सहमति जुटेको र बुधबार बस्ने कार्यदलले टुङ्गो लगाउने बताए ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।