जोडिनुहोस
  • होमपेज
  • काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपालसहित मध्य एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एनभिएका अनुसार नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ । नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ ।प्रतियोगितामा लिग चरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ ।

यसैगरी काभा वुसन्स लिगको विजेताले पाउने ट्रफी पनि शुक्रबारै सार्वजनिक गरिएको हो । एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले विजेताले पाउनृ ट्रफी अनावरण गरे । वुमन्स नेसन्स लिगका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली अहिले तयारी गरिरहेको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप रुसियन महिला टिमसँग राखेप कभर्डहलमै दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो । शारीरिक रुपमा अग्ला र अनुभवी टोली विरुद्ध खेल्दा नेपालले आफ्नो कमजोरीहरु पत्ता लगाउने अवसर पाएको थियो । यस्तै नयाँ कुरा सिक्ने अवसर समेत मिलेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले ५० दिनदेखि टिमको तयारी भईरहेको र रसियन टिमसँगको मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधार गर्ने अवसर भएको बताए ।
खेलाडीको उत्साह र कन्फिडेन्स लेभल धेरै बढेको पनि प्रशिक्षक भट्टले बताए । उनले नेपाली टिमले ट्रफी उचाल्ने आशा भएको बताए । होम कोर्ट र घरेलु समर्थनले नेपाललाई फाईदा पुग्ने उनले बताए।नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले रसियन टीमसँगको मैत्रीपूर्ण खेलबाट नेपालमा भलिबलको क्रेज कति छ भनेर फेरि देखाएको बताए ।

सचिव श्रेष्ठले काभा नेसन्स लिग नेपालको लागि महत्वपूर्ण प्रतियोगिता भएकोले सबैलाई सपोर्ट गर्न आग्रह गरे ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको भलिबल संघले जनाएको छ । ट्रफी अनावरण गर्दै एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले रसियन टिमसँगको मैत्रीपूर्ण खेल सफलतापूर्वक सम्पन्न भएको भन्दै काभा वुमन्स नेसन्स लिगमा विजेता बन्न शुभकामना दिए ।

प्रतियोगिताको आयोजनाका लागि संघका अध्यक्ष जितेन्द्स बहादुर चन्दको संयोजकत्वमा विभिन्न २१ वटा उप समिति गठन गरि काम सुरु भईसकेको संघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका