जोडिनुहोस
  • होमपेज
  • सञ्चारमाध्यममा सभाका गतिविधि कम प्राथमिकतामा पर्‍यो : अध्यक्ष दाहाल

सञ्चारमाध्यममा सभाका गतिविधि कम प्राथमिकतामा पर्‍यो :  अध्यक्ष दाहाल

 

धुलिखेल । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रियसभामा हुने गतिविधिलाई कति प्राथमिकता दिएको छ भन्ने समीक्षा गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रियसभाको गतिविधि सञ्चारमाध्यममा कम प्राथमिकता परेकोमा गुनासो गरे ।

शुक्रबार काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसले आम नागरिक राष्ट्रियसभाको गतिविधिमा सुसूचित हुने अवसरबाट बञ्चित हुने धारणा राखे । उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए । “राष्ट्रियसभाप्रति मिडियाको चासो वस्तुनिष्ठ भएर सबैले समीक्षा गर्नुपर्ने देख्छु,” उनले भने ।

अध्यक्ष दाहालले राष्ट्रियसभामा हालसम्म ६१ विधेयक दर्ता भएको त्यसमध्ये ३१ विधेयक प्रमाणीकरण भएको जानकारी दिए । “१२ वटा विधेयक फिर्ता र २०७९ सालमा प्रतिनिधिसभाको अवधि समाप्त हुँदा राष्ट्रियसभामा दर्ता भएको पाँचवटा विधेयक निष्क्रिय भएका थिए,” उनले भने ।

अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीनवटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र ती विधेयक राष्ट्रियसभामै उत्पति भएर ऐन बनेको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले मिडिया देख्दा सांसद डराउनुपर्ने र भाग्नुपर्ने अवस्था उत्पन्न हुन नहुने बताइन् । उनले पत्रकारले उठाएका विषय सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उल्लेख गरिन् । साथै, उनले जनताबाट नकारात्मक प्रतिक्रिया आउने क्रम बढेको र यस्ता कुरा किन आउँछ हामी सांसद भएर गलत पो गरिएछ कि भन्ने भान बढ्न थालेको बताइन् ।

“मिडियाको दायित्व यो पेसा मात्र होइन सेवा पनि हो भन्नेतर्फ जानुपर्छ । मिडियाको भूमिका सांसद सरह छ,” उनले भनिन्, “सांसदहरू पत्रकार देख्दा भाग्न डराउने र कतिपय सांसदहरू नजिक हुने र कतिपय तर्केर हिँड्ने अवस्था र स्थिति बन्न हुँदैन।”

उनले मिडियाको केन्द्र र प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् । “प्रतिनिधिसभालाई बढी र राष्ट्रियसभालाई कम ध्यान र प्राथमिकता दिएको भन्ने गुनासो छ,” उनले भनिन्, “संघीय संसद् भनेको त प्रतिनिधिसभा मात्र होइन होला नि दुवै सदनलाई उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

उनले सांसदहरूलाई हतोत्साहित मात्र होइन प्रोत्साहित गर्नेगरी जनतालाई केन्द्रविन्दुमा राखेर विषय उठान गरिदिन अनुरोध गरिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका