जोडिनुहोस
  • होमपेज
  • प्राकृतिक विपत्ति : १३ वर्षमा १३,७०८ को मृत्यु, १२९५ बेपत्ता

प्राकृतिक विपत्ति : १३ वर्षमा १३,७०८ को मृत्यु, १२९५ बेपत्ता

चितवनको भरतपुर महानगरपालिका– १९, सिमलतालमा यात्रुसहितका दुई बस पहिरोसँगै त्रिशुली नदीमा खसेको १६ दिन बितिसक्यो । तर, बसको अझै नामोनिसाना भेटिएको छैन भने भेलमा हराएका ६२ यात्रुमध्ये २४ यात्रुको शव मात्रै फेला परेको छ । त्यसमा पनि १९ जनाको मात्रै सनाखत भएर परिवारलाई बुझाइएको छ । भारतबाट समेत विशेष टोली बोलाएर ३८ यात्रु र बसको खोजी जारी छ ।

प्राकृतिक विपत्मा यस वर्ष भएको सबैभन्दा ठूलो क्षति यही हो, तर पहिलो भने होइन । मनसुन सुरु भएयताका ४७ दिनमा मात्रै प्राकृतिक विपत्मा १३६ जनाको ज्यान गएको छ ।

त्यसो त विगतका वर्षमा बाढी, पहिरो, चट्याङलगायत प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको सूची लामो छ । बेपत्ता उत्तिकै छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला १३ वर्षमा प्राकृतिक विपत्मा परेर १३ हजार ७०८ को मृत्यु भएको छ भने १२ सय ९५ बेपत्ता छन् । यो तथ्यांक ०६८ यता ०८० चैत मसान्तसम्मको हो ।

१३ वर्षमा बाढी, पहिरो र भारी वर्षाका कारण मात्रै २६ सय ४२ को मृत्यु भयो । यो प्राकृतिक विपत्तिमा परी मृत्यु हुने कुल संख्याको १९.२७ प्रतिशत हो । त्यसमध्ये पहिरोमा १५ सय ५७, बाढीमा ९५६ र भारी वर्षाका कारण १२९ को ज्यान गयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलले भने, ‘१२ वैशाख ०७२ मा हामीकहाँ महाभूकम्प आयो । त्यसयता भुकम्पमा नौ हजार १३१ को ज्यान गयो । त्यसलाई छाड्ने हो भने विगत १३ वर्षमा प्राकृतिक विपत्तिमा सबैभन्दा धेरै बाढी, पहिरो र भारी वर्षाका कारण ज्यान गएको देखिन्छ । त्यसपछि चट्याङमा परेर मृत्यु हुने धेरै छन् ।’

त्यस्तै, १३ वर्षमा बाढी र पहिरोमा मात्रै ९६३ बेपत्ता भएका छन् । जुन कुल बेपत्ता संख्याको ७४.३६ प्रतिशत हो । बाढीमा परेर ६०३ जना (कुल बेपत्ताको ४६.५६%) र पहिरोमा ३६० (कुल बेपत्ताको २७.७९%) बेपत्ता छन् ।

सिइओ पोखरेलले मनसुनका कारण हुने प्राकृतिक विपत्तिमा परी बेपत्ता हुनेको संख्या धेरै रहेको बताए । उनले भने, ‘हामीकहाँ मनसुन भएर पनि सुख छैन, नहुँदा पनि सुख छैन । हाम्रा लागि मनसुन बरदान र अभिशाप दुवै हो । जस्तो– मनसुन नहुँदा हाम्रा सारा कृषि प्रणाली ध्वस्त बन्छन् । तर, मनसुन हुँदा बाढी–पहिरो पनि जान्छ । जसबाट बर्सेनि जनधन दुवैको क्षति पुग्छ । जसमा बेपत्ता हुनेको संख्या अधिक छ ।’

सिन्धुपाल्चोकमा पटक–पटक ठूला प्राकृतिक विपत्ति
– १ असार ०७८ मा सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची र इन्द्रावती नदीमा भीषण बाढी आयो । बाढीले मेलम्ची बजार सर्लक्कै छोप्यो । करिब एक हजार पाँच सय रोपनी जग्गामा बसेका २१५ घरपरिवार विस्थापित बने । घटनामा २५ को मृत्यु भयो । २० अझै बेपत्ता छन् ।

– ३० साउन ०७७ मा सिन्धुपाल्चोक गाउँपालिका– २ लिदीमा भीषण पहिरो गयो । पहिरोमा २२ जनाका मृत्यु भयो भने १७ बेपत्ता भए । पहिरोले ३५ घरमा क्षति पुर्‍यायो । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी दिनरात खटिए । तर, १७ बेपत्ता फेला परेनन् ।

– २२ साउन ०७१ मा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जुरेमा भीषण पहिरो गयो । पहिराले सुनकोशी नदी झन्डै २४ घण्टा थुनियो । पहिरोमा जुरेस्थित गाउँ नै ध्वस्त बन्यो । घटनामा ३३ जनाको मृत्यु भयो । १२३ बेपत्ता फेला पर्न सकेनन् ।

यस वर्ष मनसुनका ४७ दिन, विपतकाे क्षति दोब्बर : बाढीपहिरो र चट्याङमा परी १३६ को मृत्यु
यस वर्ष मनसुनको पहिलो ४७ दिनमा बाढीपहिरो र चट्याङमा परी १३६ जनाको मृत्यु भएको छ । यस क्षति गत वर्ष यही अवधिको तुलनामा दोब्बर हो । गत वर्ष ४ साउनसम्म मनसुनजन्य विपत्का ५१४ घटनामा परी ४७ जनाको मृत्यु भएको थियो ।

यस वर्ष बाढीपहिरोको घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २८ जेठयता बाढीपहिरो र चट्याङका ९५५ घटनामा ११९ को मृत्यु भएको छ ।

जसमा बाढीमा २६, भारी वर्षा १, पहिरोमा ८६, चट्याङबाट २३ को मृत्यु भएको हो । गत वर्ष ४ साउनसम्म पहिरोबाट २२, चट्याङबाट १८ र बाढीबाट सातजनाले ज्यान गुमाएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका