जोडिनुहोस
  • होमपेज
  • नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बंगलादेशी विद्यार्थी समूहको चेतावनी

नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बंगलादेशी विद्यार्थी समूहको चेतावनी

ढाका । बंगलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबारसम्म हिरासतबाट रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्यांकअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फयु) आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का सदस्यले निजामती सेवा भर्ती नियमहरूविरूद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् ।

“समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,” अब्दुल हन्नान मसुदले शनिबार एक अनलाइनलाई दिएको जानकारीमा बताए । मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् ।

उनले अगाडि भने, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई वेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्यार्थी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन् ।” इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको थियो र सादा पोसाकका जासुसहरूको एक समूहले उनीहरूलाई लगेको थियो ।

यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताएका थिए ।

गृहमन्त्री असदुज्जमान खानले तीनैजनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गरेनन् ।

प्रहरीले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार जासुसहरूले अन्य दुईजनालाई हिरासतमा लिएका छन् । ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एकजनालाई नियन्त्रणमा लिइएको बताएका छन् । बंगलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका