जोडिनुहोस
  • होमपेज
  • विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् ।

विपिनका बुवा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सोमबार यस्तो आश्वासन दिएकी हुन् ।विपिन जोशीका बुवासहित परिवारका सदस्यहरूले आज परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।

उक्त भेटमा मन्त्री डा. राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् ।इजरायलमा भएको आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको उनले सुनाइन् । विपिनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको मन्त्री डा. राणाले जानकारी दिइन् ।

मन्त्री डा राणाले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।’

आफू परराष्ट्रमन्त्री भएदेखि विपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको उनको भनाइ थियो ।आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई विपिनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको उनले बताइन् ।

यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहलको आग्रह गरेको उनले स्मरण गरिन् ।मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन् । इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात उनीहरूकै नियन्त्रणमा रहेका विपिन हालसम्म सम्पर्कविहीन छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका