जोडिनुहोस
  • होमपेज
  • प्रिन्सको लगातार दोस्रो हार

खेलकुद

प्रिन्सको लगातार दोस्रो हार

  • Sagarmatha TV
  • मङ्लबार, साउन १५, २०८१
प्रिन्सको लगातार दोस्रो हार

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर–२ मा भएको समूह ‘पी’को खेलमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रोमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रोमा १७ अंक बटुलेका थिए । ओलम्पिकमा गुयेनको यो लगातार दोस्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक–२०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । पूर्वजुनियर नम्बर वान प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका निम्ति ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका