जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाली नेताका निम्ति विदेशमा नयाँ औषधिको खोजी

उत्तर कोरियाली नेताका निम्ति विदेशमा नयाँ औषधिको खोजी

सिउल । उत्तर कोरियाका नेता किम जोङ उन मोटोपनका कारण उच्च रक्तचाप र मधुमेहजस्ता समस्यामा परेकाले उपचारका निम्ति त्यहाँका अधिकारीले विदेशमा नयाँ औषधि खोजी गरिरहेका मुलुकको स्पाई एजेन्सीले सोमबार आफ्नो देशका सांसदहरूलाई जानकारी गराएको छ ।

४० वर्षीय किम ज्यादा मद्यपान र धूमपान गर्ने र उनको परिवारमा नै विगतमा मुटुको समस्या देखिएको इतिहास छ । उनका हजुरबुवा र बुवा दुवैको मृत्यु मुटुसम्बन्धी समस्याले भएको थियो ।

केही पर्यवेक्षकका अनुसार, किम १७० सेमी उचाइ (पाँच फिट सात इन्च) र यसअघि तौल १४० केजी (३०८ पाउन्ड) थियो । सन् २०२१ मा उनले तौल निकै घटाएका थिए । यसो हुनुमा उनले ‘डाइट’ परिवर्तन गरेका थिए । तर, पछिल्ला स्टेट मिडिया फुटेजमा उनले तौल फेरि बढाएको देखिने गरेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले सोमबार बन्द कोठाको ‘ब्रिफिङ’मा सांसदलाई किमको तौल फेरि १४० केजी पुगेको र उनी मुटु रोगको ‘हाई रिस्क’ समूहमा रहेको जानकारी गराएको सांसद ली सिओङ क्वेनले बताएका छन् । किममा ३० वर्षको उमेरदेखि नै उच्च रक्तचाप र मधुमेहको लक्षण देखिएको लीले उल्लेख गरेका छन् ।

अर्का सांसद पार्क सुनवनले नेसनल इन्टेलिजेन्स सर्भिसलाई उद्धृत गर्दै किमको मोटोपनको कारण मद्यपान, धूमपान र तनाव रहेको हुन सक्ने बताएका छन् ।

उत्तर कोरिया गोप्य मुलुक भएकाले किमको स्वास्थ्यबारे कसैलाई पनि बताइने गरेको छैन ।

उत्तर कोरियाली नेताले आफ्नो उत्तराधिकारी तोकी नसकेकाले उनको स्वास्थ्यबारे देशबाहिर समेत चासो दिने गरिएको छ । किमले आफ्नी छोरीलाई उत्तराधिकारी चयन गर्न सक्ने अनुमान गरिँदै आएको छ । एपीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका