काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो ।
त्यस्तै, तीन सांसद तटस्थ बसेका थिए । वाग्मती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।