जोडिनुहोस
  • होमपेज
  • मादुरोको जितपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन, अहिलेसम्म ११ जनाको मृत्यु

मादुरोको जितपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन, अहिलेसम्म ११ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन चर्किएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्मको प्रदर्शनको क्रममा ११ जनाको ज्यान गएको छ ।

विपक्षी नेताहरुले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । रिपोर्टका अनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनी समेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन् ।

केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो । निकोलस मादुरोले चुनाव जितेको घोषणा गरियो । तर, विपक्षीले यो जितलाई मान्न अस्वीकार गरेका छन् । निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ ।

चुनावी नतिजा अनुसार राष्ट्रपति निकोलस मादुरोले ५१.२ प्रतिशत मत पाएका छन् भने विपक्षी नेता गोन्जालेजले ४४.२ प्रतिशत मत पाएका छन् । मादुरोको जितपछि विपक्षी र जनता आक्रोशित भएका छन् । सडकमा उत्रिएका प्रदर्शनकारीले मादुरोको पोष्टर च्यातेका थिए ।

उनीहरूले मादुरोभन्दा अगाडि राष्ट्रपति भएका ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् । यससँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गरेका थिए र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेका थिए । मादुरो विगत ११ वर्षदेखि सत्तामा छन् भने अब २०३० सम्म सत्तामा रहनेछन् ।

यसैबीच मादुरोले भेनेजुएलामा ‘कु’ को प्रयास भइरहेको दाबी गरेका छन् । निर्वाचनपछि यस्तो हुने अनुमान गरेको उनले तर उनीहरुको योजना सफल हुन नदिने बताए । रिपोर्टका अनुसार भेनेजुएला धेरै वर्षदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिका र पश्चिमी मुलुकले लगाएको नाकाबन्दीका कारण तेलका लागि चर्चित यो देश विश्वमा एक्लो बन्दै गएको छ ।

मादुरोको जितमा अमेरिकाले चुनावी नतिजामा विश्वास नगर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गर्दै यो नतिजाले भेनेजुएलाका जनताको मनस्थितिलाई प्रतिबिम्बित नगर्ने बताए । संयुक्त राष्ट्र संघ र युरोपेली संघ लगायत धेरै देशले भेनेजुएलामा पारदर्शी ढंगले नतिजा जारी गर्न माग गरेका छन् । उनले प्रत्येक मतदान केन्द्रको मतदान अभिलेख सार्वजनिक गर्न निर्वाचन अधिकृतलाई अपिल गरेका छन् ।

मादुरोलाई चीन, रुस र क्युवाजस्ता साथी राष्ट्रहरूको समर्थन प्राप्त छ । उनीहरुले लगातार तेस्रो जितमा राष्ट्रपतिलाई बधाई दिएका छन् । तर, छिमेकी मुलुकले त्यसो गरेका छैनन् । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अहिलेसम्म बधाई दिएका छैनन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि यस्तै गरेका छन् । यी दुवै देशमा भेनेजुएला जस्ता वामपन्थी विचारधाराका सरकारहरू छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका