विराटनगर– निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे ।
उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न, सीप विकास गर्न, आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।