जोडिनुहोस
  • होमपेज
  • वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु

वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु

नयाँदिल्ली। भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ ।

उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ । मुसलधारे वर्षाका कारण पहिरो र बाढीबाट बाली नष्ट भएको, घरहरू क्षतिग्रस्त भएको र मानिसहरूको ज्यान गएको छ ।

चीनको मौसम विज्ञान प्रशासनले गत महिना जारी गरेको प्रतिवेदनअनुसार चीनमा अत्यधिक गर्मी दिन र लगातार तीव्र वर्षा भइरहेको ऐतिहासिक तथ्याङ्कले देखाउँछ । मौसम विज्ञान प्रशानसनले दुवै अवस्था आगामी ३० वर्षमा अझ बढ्ने पूर्वानुमान गरेको छ ।

सरकारहरूले क्षति न्यूनीकरण गर्न विपद् रोकथाम योजनाहरू सुरु गरेका छन् । आँधी आउनुअघि मानिसहरूलाई बाहिर निकाल्न र विच्छेद भएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउन उद्धार टोलीहरूले प्रयास गरिरहेका छन् ।

चीनले वर्षा हुने प्रान्तहरूमा आपत्कालीन सञ्चारका लागि ड्रोन तैनाथ गरेको छ ।

भारत : २०१ को मृत्यु, करिब २०० बेपत्ता

मङ्गलबार बिहान भारी वर्षाले दक्षिणी भारतको केरल राज्यमा चिया बगान र गाउँहरूमा आएको बाढीले पुल र घरहरू क्षतिग्रस्त भएका छन् ।

चौथो दिनको खोजीमा जीवित मानिस भेटिने अपेक्षा कम भएको छ । मुख्य पहिरोबाट ३० किलोमिटर तल नदीमा शवहरू फेला परेका छन् ।

भारतमा मनसुनको मौसममा नियमितरूपमा बाढी आउँछ । बालीनालीका लागि महत्त्वपूर्ण मनसुनी वर्षा जुन र सेप्टेम्बरको बीचमा हुने गर्दछ ।

चीन : ४८ को मृत्यु, ३५ बेपत्ता

गत साता पश्चिमी प्रशान्त क्षेत्र हुँदै आएको गेमी नामक आँधीबाट फिलिपिन्समा ३० भन्दा धेरै र ताइवानमा १० जनको मृत्यु भएको थियो । यद्यपि चीनमा उष्णकटिबन्धीय आँधी कमजोर भएपछि यो घातक भएको थियो ।

धेरै दिनसम्म चीनको हुनान प्रान्तका केही भागमा वर्षा भएको छ । आइतबार बिहान एक होमस्टेमा पहिरो जाँदा १५ जनाको मृत्यु भयो । हुनानका अन्य स्थानमा सोमबार तीन शव फेला परेका छन् । उनीहरू पनि पहिरोको शिकार भएको विश्वास गरिएको छ ।

नजिकैको जिक्सिङ सहरका अधिकारीहरूले बिहीबार बाढीबाट ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको घोषणा गरेका छन् ।

जलस्रोत मन्त्रालयले चीनमा यो वर्ष २५ वटा ठूला बाढी रेकर्ड गरेको छ । यो आँकडा सन् १९९८ मा तथ्याङ्क राख्न सुरु गरेयताको सबैभन्दा बढी हो ।

उत्तर कोरिया : क्षति तर मृत्युको जानकारी छैन

उष्णकटिबन्धीय आँधीका कारण उत्तर कोरियाको सीमामा रहेको उत्तरपूर्वी चीनमा भारी वर्षा हुँदा दुवै मुलुकलाई विभाजन गर्ने यालु नदीमा बाढी आयो ।

उत्तर कोरियामा वर्षाले चार हजार एक सय घर, तीन हजार हेक्टर खेत र धेरै सार्वजनिक भवन, सडक र रेल्वे डुबानमा परेका छन् ।

यहाँको सरकारी सञ्चारमाध्यमले मृत्युको बारेमा जानकारी दिएको छैन तर नेता किम जोङ उनले हताहतीको सङ्केत गर्नुभएको छ । उहाँले ‘हताहतीलाई अनुमति दिन सकिँदैन’ भन्दै सार्वजनिक अधिकारीहरूमाथि विपद् रोकथाममा बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

पाकिस्तान : तीनको मृत्यु

पाकिस्तानमा बिहीबार लाहोर सहरमा रेकर्ड वर्षाले सडकहरू जलमग्न भएका छन् र कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

लाहोरको केही भागमा केही घन्टाभित्रै तीन सय ५३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । यसले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका