जोडिनुहोस
  • होमपेज
  • मान्छे आक्रमण गर्ने बाघ झण्डै १६ घण्टापछि नियन्त्रण

मान्छे आक्रमण गर्ने बाघ झण्डै १६ घण्टापछि नियन्त्रण

चितवन । नारायणी नदी किनारमा आइतबार बिहान एक स्थानीयलाई आक्रमण गरी नजिकैको नरकटघारीमा लुकेको बाघ झण्डै १६ घण्टापछि नियन्त्रणमा लिइएको छ । बाघले नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५ः२० बजे आक्रमण गरेको थियो ।

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठको नेतृत्वमा बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौला, पशु स्वास्थ्य प्राविधिक किरण रिजाल, बाघलाई बेहोस गराउने तीर्थ लामासहितका प्राविधिकहरू खटेका थिए ।

आइतबार मध्याह्न तीन वटा हात्तीसहित बाघलाई समाउन टोली परिचालन भएको थियो । बाघसँग तर्सेर दुईवटा हात्ती भागेपछि सौराहाबाट थप दुईवटा हात्ती मगाएर बाघ नियन्त्रणमा लिइएको हो । उक्त बाघ अन्दाजी पाँच ६ वर्षको भाले भएको डा.विजय श्रेष्ठले जानकारी दिएका छन् । बाघलाई हाल चितवन निकुन्जको पूर्वी सेक्टर कार्यालय सौराहा लगिँदै छ ।

बाघलाई प्राविधिकहरूले राति नौ बजेतिर डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । बेहोस भएको पक्का भएपछि खोरमा राख्दा साढे नौ जति बजेको थियो । नारायणगढ बजारको व्यस्त क्षेत्र लिलाचोक, पोखरा बसपार्क आडमा नै बाघ आएर स्थानीयलाई आक्रमण गरेको घटनाले स्थानीय त्रासमा थिए । घटनास्थल पूर्व लगभग दुई किलोमिटर पर दियालो बंगला क्षेत्रको जंगल छ । पश्चिममा तीन किलोमिटर जति पर नगरवनको जंगल र उत्तरमा गैंडाकोटको स–सानो मजुवा जंगल पनि छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका