जोडिनुहोस
  • होमपेज
  • नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो

चितवन। नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने , “स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो ।”

उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुनसक्छ । बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ । रातको समयमा बाघ सक्रिय हुने र जङ्गल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुनसक्ने अनुमान गरिएको छ । बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेको थियो । आइतबार बिहान घटना भएकामा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो ।

बाघ अन्दाजी पाँच÷छ वर्षको भाले हो । उद्धार गरिएको बाघ बुढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राख्ने गरिन्छ । निकुञ्ज क्षेत्रमा खोरमा अहिले छवटा बाघ रहेका छन् । जसमध्ये दुईवटा देवनगरमा, तीनवटा कसरा र एउटा सौराहामा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका